Monday, December 7, 2015

भारतीय नाकाबन्दीसँगै उपत्यकामा इन्धनको कालोबजारी मौलाएको छ । दिनदिनै जसो तेल र ग्याँस कालोबजारी गरेको अभियोग लगाएर प्रहरीले जिल्ला अदालतहरुमा व्यापारीहरु विरुद्ध मुद्दा दायर गर्ने गरेको छ ।

मुद्दा दायर मात्रै गर्दैन उनीहरुसंगबाट बरामद गरेको तेल, ग्याँस पनि अदालतमा बुझाउने गर्छ।

अदालतमा बुझाएको तेललाई अदालतले के गर्छ त?

जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार ध्रुव उप्रेतीका अनुसार इजलासले तेललाई नगदमा परिणत गरेर धरौटीका रुपमा पेश गर्न भनेकाले अदालतले त्यसलाई बेच्ने गर्छ। ‘हामीले गुणस्तर जाँचेको रहेनछ भने जाँच गर्छौँ, त्यसपछि आयल निगमलाई बोलाएर मूल्य बुझ्छौँ र नगदमा परिणत गर्नका लागि विक्री पनि गर्छौँ’ उनले भने। केही दिन अघि जिल्ला न्यायाधीश अच्युत विष्टको इजलासले तेललाई नगदमा परिणत गरि धरौटीको रुपमा पेश गर्ने आदेश दिएको छ।

त्यसरी विक्री गर्दा धेरै जसो अदालतभित्रकै न्यायाधीश कर्मचारीहरुलाई विक्रि गर्ने गरेको पनि उनले बताए। ‘बाहिर बेचेपछि भित्रै बेचे पनि कुरा उस्तै हो,संकटको बेला भएकाले यहीँ भित्रै विक्री हुन्छ’श्रेस्तेदार उप्रेतीले भने।

अहिले सम्म धेरै ठूलो परिणामको तेल काठमाडौँ जिल्ला अदालतमा नआएको उनले बताए। ‘अल्लि अघि एकमुस्ट १९ सय लिटर तेल आएको थियो ठूलो परिणाम भनेको त्यही हो,’ उनले भने।
तहसिल दार देव प्रसाद योगीका अनुसार अहिले अदालतमा ६ सय पचास लिटर जति तेल छ। यसका बारेमा इजलासले निर्णय गरेको छैन।

छिट्टै नष्ट हुन सक्ने सामानलाई नगदमा परिणत गरेर धरौटीका रुपमा राख्ने कानुन नै छ। तेल पनि उडेर जाने, आगो लाग्न सक्ने भएकाले मुद्दाको फैसला हुने बेला सम्म राख्न नसकिने भन्दै इजलासले यस्तो आदेश दिएको श्रेष्तेदार उप्रेतीले बताए।

काठमाडौं जिल्ला अदालतमा काठमाडौं प्रहरीले र महानगरीय प्रहरी अपराध महाशाखाले ३० हजार लिटरभन्दा बढी तेल बुझाइसकेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले तेललाई नगदमा परिणत गरि धरौटीको रुपमा पेश गर्ने आदेश सकरात्मक भएको बताए । अदालतमा स्टोर गर्न समस्या हुने र सो बराबर रकम राजस्वमा दाखिला गर्ने  अदालतको आदेशले निकै सजिलो बनाएको उनले बताए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले पनि बरामद गरिएको इन्धन अदालतसम्म लैजादाँ चुहिनेजस्ता समस्या देखिएको कारण सो बराबरको रकम बुझाउने आदेश सराहनिय भएको बताए ।

Sources: setopati.com

Tagged: , ,