Showing posts with label Kalobazar. Show all posts
Showing posts with label Kalobazar. Show all posts

Monday, December 7, 2015

भारतीय नाकाबन्दीसँगै उपत्यकामा इन्धनको कालोबजारी मौलाएको छ । दिनदिनै जसो तेल र ग्याँस कालोबजारी गरेको अभियोग लगाएर प्रहरीले जिल्ला अदालतहरुमा व्यापारीहरु विरुद्ध मुद्दा दायर गर्ने गरेको छ ।

मुद्दा दायर मात्रै गर्दैन उनीहरुसंगबाट बरामद गरेको तेल, ग्याँस पनि अदालतमा बुझाउने गर्छ।

अदालतमा बुझाएको तेललाई अदालतले के गर्छ त?

जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार ध्रुव उप्रेतीका अनुसार इजलासले तेललाई नगदमा परिणत गरेर धरौटीका रुपमा पेश गर्न भनेकाले अदालतले त्यसलाई बेच्ने गर्छ। ‘हामीले गुणस्तर जाँचेको रहेनछ भने जाँच गर्छौँ, त्यसपछि आयल निगमलाई बोलाएर मूल्य बुझ्छौँ र नगदमा परिणत गर्नका लागि विक्री पनि गर्छौँ’ उनले भने। केही दिन अघि जिल्ला न्यायाधीश अच्युत विष्टको इजलासले तेललाई नगदमा परिणत गरि धरौटीको रुपमा पेश गर्ने आदेश दिएको छ।

त्यसरी विक्री गर्दा धेरै जसो अदालतभित्रकै न्यायाधीश कर्मचारीहरुलाई विक्रि गर्ने गरेको पनि उनले बताए। ‘बाहिर बेचेपछि भित्रै बेचे पनि कुरा उस्तै हो,संकटको बेला भएकाले यहीँ भित्रै विक्री हुन्छ’श्रेस्तेदार उप्रेतीले भने।

अहिले सम्म धेरै ठूलो परिणामको तेल काठमाडौँ जिल्ला अदालतमा नआएको उनले बताए। ‘अल्लि अघि एकमुस्ट १९ सय लिटर तेल आएको थियो ठूलो परिणाम भनेको त्यही हो,’ उनले भने।
तहसिल दार देव प्रसाद योगीका अनुसार अहिले अदालतमा ६ सय पचास लिटर जति तेल छ। यसका बारेमा इजलासले निर्णय गरेको छैन।

छिट्टै नष्ट हुन सक्ने सामानलाई नगदमा परिणत गरेर धरौटीका रुपमा राख्ने कानुन नै छ। तेल पनि उडेर जाने, आगो लाग्न सक्ने भएकाले मुद्दाको फैसला हुने बेला सम्म राख्न नसकिने भन्दै इजलासले यस्तो आदेश दिएको श्रेष्तेदार उप्रेतीले बताए।

काठमाडौं जिल्ला अदालतमा काठमाडौं प्रहरीले र महानगरीय प्रहरी अपराध महाशाखाले ३० हजार लिटरभन्दा बढी तेल बुझाइसकेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले तेललाई नगदमा परिणत गरि धरौटीको रुपमा पेश गर्ने आदेश सकरात्मक भएको बताए । अदालतमा स्टोर गर्न समस्या हुने र सो बराबर रकम राजस्वमा दाखिला गर्ने  अदालतको आदेशले निकै सजिलो बनाएको उनले बताए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले पनि बरामद गरिएको इन्धन अदालतसम्म लैजादाँ चुहिनेजस्ता समस्या देखिएको कारण सो बराबरको रकम बुझाउने आदेश सराहनिय भएको बताए ।

Sources: setopati.com

Sunday, December 6, 2015

१५ मंसिर, काठमाडौ । ‘यस्तो अभावका बेलामा पनि हामी खानेतेल आपूर्ति गरिरहेका छौं, यसका लागि तेल उद्योगीहरु सबैलाई फूलको माला लगाएर राज्यले धन्यवाद दिनुपर्छ ।’
वाणिज्य विभागले बोलाएको बैठकमा खानेतेलका उद्योगीहरु सरकारी अधिकारीसँग झर्किए- ‘हामीले लगाएको गुनलाई बेवास्ता गरेर कालोबजारी गरेको भन्ने आरोप लगाउन पाइँँदैन ।’
खानेतेलमा भएको अस्वाभाविक मूल्यवृद्धिबारे स्पष्टीकरण दिन आएका उद्योगीहरुले सरकारी अधिकारीलाई अहिलेसम्म आफूहरुकै प्रयासले मात्रै उपभोक्ताले बजारमा खानेतेल पाइरहेकोे दाबी गरे ।
भारतले नरोक्दा पनि किन मूल्य बढ्यो ?
तर, भारतले कुहिन वा बिग्रन सक्ने आफ्ना उत्पादन सहजै भन्सार पास गरेको कुरा बैठकमा लुकाउन खोजे । यस्तै वीरगञ्ज बाहेक अन्य नाकामा कति-कति तेल तथा तेलजन्य पदार्थ अडि्कएको छ भनेर कुनै रेकर्ड देखाउन सकेनन् ।

सहजरुपमा वीरगञ्ज बाहेकका नाकाबाट कच्चा तेल आइरहँदा पनि अभाव भएको भन्दै उद्योगहरुले दोब्बरभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन् । तोरीको तेल प्रतिलिटर ३ सय २० रुपैयाँसम्म बिक्री भएको भेटिएको छ ।
यसैगरी सूर्यमूखी तेल लिटरको २ सय ७० रुपैयाँसम्म किनबेच भएको छ । सोयाबिन तेल पनि प्रतिलिटर २ सय ७० रुपैयाँसम्म बेचिँदैछ । कतिपय स्थानमा उद्योगले लगाएको ट्याग भन्दा बढी मूल्य लिएर बिक्री भइरहेको छ ।
कालोबजारीको घुमाउरो स्वीकारोक्ति
कालोबजारीबारे विभागले गरेको प्रश्नमा उद्योगीहरुले लागत अनुसार मूल्य तोकिएको ठोकुवा गरे । तर, फेरि उद्योगीले मूल्य घटाउन तयार रहेको प्रतिक्रिया पनि दिए ।
‘अहिले कच्चा खानेतेल र त्यसका कच्चा पदार्थको आयात केही सहज भएको छ । स्टक पनि बढेको छ । अब केही मूल्य घटाउन सकिन्छ भनेर गएका छन्’ एक उद्योगीको भनाइलाई उधृत गर्दै बाणिज्य विभागका एक अधिकारीले भने-‘घुमाउरोरुपमा उनीहरुले कालोबजारी गरेको स्वीकारेका पनि हुन् ।’
उद्योगीहरुले बैठकमा हुम्ला र जुम्लाका लागिसमेत भनेर बढी खुद्रा मूल्यको ट्याग लगाएको स्वीकारे । त्यसबाट उद्योगहरुले योजनावद्धरुपमा नै कालोजारी गरेको प्रष्ट भएको ती अधिकारी बताए ।
विकट जिल्लामा तेल लैजाँदा थपिने ढुवानी खर्चसमेत जोडेर तेलको अधिकतम खुद्रा मूल्य राखेको उनीहरुको दाबी थियो । तर, काठमाडौंमा नै त्यही मूल्यमा तेल बिक्री भइरहेको छ ।  उद्योगहरुले अत्यधीक बढाइएको खुद्रा मूल्यमा तेल बेच्ने गरी खुद्रा विक्रेतालाई बेचिरहेका छन् ।
तेलको मूल्य घट्छः विभाग
विभागमा निर्देशक हरिनारायण बेल्बासेले भने बजारमा तेलको मूल्य घट्ने सुरु भइसकेको दाबी गरे ।  ‘आज एकजना उद्योगीले फोन गरेर ३ सय २० रुपैयाँ प्रतिलिटरको तेल २ सय ९० रुपैयाँ प्रतिलिटर हुने गरी ट्याग लगाएको जानकारी दिएका छन् । अब बिस्तारै सबै उद्योगले मूल्य घटाउँछन्’ उनले भने ।
भारतीय नाकाबन्दीपछि बजारमा खानेतेलको अभाव चर्किएपछि व्यवसायीले मनलाग्दी मूल्य राखेर तेल विक्री गरेको ठहर विभागले पनि गरेको छ ।
तर, उद्योगीले लागत बढेको कारण मूल्य बढेको भनेपछि विभागले कालोजारी गर्ने विरुद्ध स्पष्टीकरण लिने भन्दा बाहेक कुनै कदम चाल्न सकेको छैन ।
विभागले उद्योगहरुले पेश गरेको लागतमा अनुसन्धान गरेर दोषी पाइए कारवाही गर्ने बताएको छ ।

Sources: onlinekhabartaja.blogspot.com